बाँकेको खजुरामा घाँटी रेटिएको अवस्थामा श्रीमान् श्रीमती फेला

नेपालगन्ज, चैत १९ गते । नेपालगन्ज २१ मा घाँटी रेटेर एक युवकको हत्या भएको घटनाको २४ घण्टा बित्न नपाउँदै बाँकेको खजुरा गाउँपालिकामा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार दिउँसो घरमा कोही नभएको र श्रीमान् श्रीमती मात्रै रहेको बेला सो घटना भएको पाइएको छ ।

प्रहरीका अनुसार खजुरा ३ बि गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान् महेन्द्र रावत श्रीमती गीतासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटेर अवस्थामा भेटिएका हुन् ।

गम्भीर अवस्थामा रहेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पु¥याएको थियो ।

उनीहरूको अवस्था गम्भीर रहेकाले भेरी अस्पतालले दुवै जनालाई नेपालगन्ज मेडिकल कलेजमा रिफर गरेको भेरी अस्पतालले जनाएको छ । उनीहरूको उपचार नेपालगन्ज मेडिकल कलेजमा भइरहेको र अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले घटना रहस्यमय रहेको बताउनुभयो । उहाँका अनुसार दुबैजनाले एक अर्काको घाँटी रेटेका हुन् कि उनीहरूलाई कसैले घाँटी रेटेर हत्या गर्न खोजेको हो सो बारेमा अनुसन्धान भइरहेको छ ।