बिवाद समाधानमा सक्रिय खजुराको न्यायीक समिति

बाँके, चैत २९ गते । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर २ का बासिन्दाबीच केही दिनअघि मानखोलामा पशु चौपायलाई पानी खुवाउने र चरिचरणको विषयमा बिवाद भयो ।

सीतापुरस्थित सामुदायिक वनलाइ विपक्षी बनाएर वडा नम्बर ५ का बासिन्दाले बिवाद समाधानका लागि गाउँपालिकाको न्यायीक समितिमा निवेदन दिए । बर्षौदेखि चरिचरणको रुपमा प्रयोग गरिरहेको जङ्गल क्षेत्र प्रयोग गर्न पाउनुपर्ने र मानखोलासम्म पशु चौपाय लैजान पाउनुपर्ने माग सहित निवेदन परेपछि न्यायीक समितिका संयोजक तथा उपाध्यक्ष मञ्जु मल्ले दुबै पक्षलाई छलफलमा बोलाउनुभयो ।

दुबै पक्षको कुरा सुनेपछि संयोजक मल्लले स्थानीयले संरक्षण गरेको सामुदायिक वनभित्र पशु लैजान पाउनुपर्ने माग उचित नभएकाले सामुदायिक वन समितिले गरिरहेको कामलाई निरन्तरता दिने भन्दै निवेदनको अन्तिम टुङ्गो लगाउनुभयो ।
उपाध्यक्ष मल्लले स–सानादेखि गम्भिर प्रकृतिका उजुरी न्यायीक समितिमा आउने गरेको बताउनुभयो ।

उपाध्यक्ष मल्लले भन्नुभयो , ‘उजुरी आएपछि दुबैपक्षलाई राखेर छलफल गर्ने गरेका छौं, केही उजुरी भने सहमति हुन नसक्दा सम्बन्धित कार्यालयमा पठाउने गरेका छौं । ’

उपाध्यक्ष मल्लका अनुसार गत आव २०७९।८० मा ४५९ उजुरी परेकोमा चालु आवमा हालसम्म १८५ उजुरी दर्ता भएका छन् । गत आवमा जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी खजुरा गाउँपालिकाको न्यायिक समितिमा उजुरी दर्ता भएका थिए ।
लेनदेनसम्बन्धी,जग्गा विवाद, गाली बेइज्जती, फोहोरमैला, घरायसी हिंसा लगायतका विषयमा उजुरी दर्ता हुने गरेको छ ।
न्यायीक समितिमा परेका उजुरीमाथि छानबिन गरी छलफलमार्फत न्याय निरूपण हुँदा स्थानीयले सहजरुपमा न्याय पाउन सकेको बताएका छन् ।