क्यान्सर अस्पताल खजुरामा आगलागी

नेपालगन्ज, चैत १८ गते। बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ।

आइतबार अपरान्ह करिब साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको अस्पतालका कार्यकारी निर्देशक डा.प्रकाशप्रसाद साहले जानकारी दिनुभयो।

निर्देशक शाहका अनुसार रेडियोलोजी विभागको छुट्टै भवन छ। नेपालगन्जबाट ढिला गरेर पुगेको दमकल र स्थानीय तथा सुरक्षाकर्मीको सहयोगबाट आगो नियन्त्रणमा आइसकेको छ।

आगलागीबाट अस्पतालका विभिन्न उपकरणमा क्षति पुगेको छ। क्षतिको विवरण भने आइसकेको छैन। क्षतिको विषयमा प्राविधिक टिमले अध्ययन गरेपछि मात्रै थाहा हुने कार्यकारी निर्देशक साहले बताउनुभयो। विद्युत सर्ट भएर आगलगी भएको अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले अस्पतालको सिटी स्क्यान कोठाबाट धुँवा निस्किएको देखिएपछि आगो बढ्दै गएको जानकारी आएपछि नियन्त्रणका लागि दमकल पठाइएको बताउनुभयो।