बाँकेका खत्रीले लिए मन्त्रीको सपथ

बाँके, बैशाख ६ । बाँके क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्विनी प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले बिहिवार प्रदेश मन्त्रीीको पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

खत्री सहित लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २३ गते आफू नियुक्त भएपछि दोस्रो पटक मन्त्रीपरिषद बिस्तार गरी पूर्णता दिनुभएको हो । सत्ता समीकरणमा भागबण्डा मिलेपछि ११ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ । । जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बाँकेका खत्रीसहित दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल, र भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । खत्रीलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिनेगरी नेकपा एमाले प्रदेश स.सदीय दलले सिफारिश गरेको छ ।

नेकपा एमाले बाँकेका सचिव समेत रहनुभएका खत्री तीन दशक भन्दा लामो समयदेखि राजनीतिमा क्रियाशिल रहनुभएको छ । एमालेको भातृ संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटी हुँदै केन्द्रीय प्रचार विभागको प्रमुख र महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारी सम्हाली सक्नुभएका खत्री प्रभावशाली बक्ता र लोकप्रिय नेताको रुपमा कार्यकर्ता र जनतामाझ परिचित रहनुभएको छ ।