हेलिकप्टरले ढुवानी गरेका २० जिप सञ्चालनमा

सिमकोट : राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकप्टरबाट ढुवानी गरेका २० वटा बलेरो जिप सञ्चालनमा ल्याइएका छन्। सदरमुकाम सिमकोटदेखि ट्र्याक जोडिएका आसपासका क्षेत्रहरूमा बिरामी, यात्रु ओसार्न र सामग्री ढुवानी गर्न व्यक्तिगत रूपमा सुर्खेतदेखि हेलिकप्टरबाट ढुवानी गरेर ल्याएका २० वटा जिप सञ्चालनमा ल्याइएका छन्।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला सदरमुकाम सिमकोटदेखि आसपासका गाउँहरूका लागि हेलिकप्टरमार्फत जिप ढुवानी गरेर ल्याइएका जिप सञ्चालनमा ल्याइएका हुन्। तत्कालीन जिल्ला विकास समिति मातहत सञ्चालन भएको ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम (ड्रिल्पी) आयोजनाले २०६९ देखि ०७४ सालसम्म निर्माण गरेको सिमकोट–खार्पुनाथ खण्डका गाडी चल्ने भएपछि हेलिकप्टरबाट ढुवानी गरेर जिप सञ्चालन गर्न थालिएको हो।

अहिले सिमकोटमा भएका जिपहरू उत्तरतिर नाम्खातर्फ ३५ किलोमिटरको याल्वाङ, १३ किलोमिटरको हेप्का, लेकधिगा, सिमकोट गाउँपालिकाको १२ किलोमिटरको खार्पुनाथ दोभान र ९ किलोमिटरको ठेहसम्म सञ्चालन हुँदै आएका छन्।