नेपालगन्ज उद्योग वाणिज्य सङ्घमा तालाबन्दी

नेपालगञ्ज, भदौ ९ गते । महासचिव पदमा भएको निर्वाचनको पुनः मतगणनाको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घको कार्यालयमा नेपाली काँग्रेस निकट उद्योगी व्यवसायीहरूको एक समूहले तालाबन्दी गरेका छन् ।

गत भदौ २ गते भएको सङ्घको निर्वाचनमा महासचिव पदमा समावेशी समूहका भिमबहादुर रानाभाट विजयी भएको घोषणा गरिएको थियो । पछि प्रजातान्त्रिक समुहले अर्को बाकमा भेटिएका केही मतपत्र गणना गर्न बाँकी रहेको भन्दै बिरोध गरेपछि महासचिव पदमा पुनः मतगणना हुने बताइएको थियो । अस्पताल भर्ना हुनुभएका प्रमुख निर्वाचन अधिकृत टिकाजङ्ग सिंहले पुनः मतगणना नहुने निर्णय गर्नुभएपछि मतगणनाको माग गर्दै प्रजातान्त्रिक समूहले सङ्घको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

प्रजातान्त्रिक समूहबाट कोषाध्यक्षमा विजयी हुनुभएका मख्खन धामीले मतगणनाका दिन विवाद हुँदा पुनः मतगणना गर्ने सूचना टाँस गरे पनि हाल आएर मतगणना नगर्ने निर्णय गरिएको विरोधमा सङ्घको कार्यालयमा तालाबन्दी गरिएको बताउनुभयो ।

सुरुमा ६ मतान्तरले महासचिवमा समावेशी समूहका भीमबहादुर रानाभाटलाई विजयी घोषणा गरेलगत्तै उहाँका प्रतिद्वन्द्वी टङ्क शर्माले पुनः मत गणनाको माग गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत सिंहसहित निर्वाचन अधिकृतहरूलाई मतगणना परिसरमा तालाबन्दी गरेर बन्धक बनाउनुभएको थियो ।

बन्धक मुक्त गर्ने क्रममा जिल्ला प्रशासनको मध्यस्थतामा प्रमुख निर्वाचन अधिकृत सिंहले पुनः मतगणनाको सूचना निकाल्नु भएको थियो । सो लगत्तै उहाँ बिरामी भएपछि अस्पताल भर्ना हुनु भएको थियो ।
प्रजातान्त्रिक समूहका अगुवा सञ्जय थापाले सो घोषणा न्यायसङ्गत नभएको जनाउनुहुँदै प्रजातान्त्रिक समूहले सङ्घमा तालाबन्दी गर्नुका साथै पुनः मतगणनाका लागि अदालतमा रिट दायर गर्ने निर्णयमा पुगेको बताउनुभयो ।