नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले ७३ औं प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरेको छ । विपी चोकमा आज साँझ आयोजित दिप प्रज्वलन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताले प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको आहूती दिने ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै दिप प्रज्वलन गरेका हुन् । पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्व तथा पूर्व मन्त्री एवम् पूर्व पार्टी सभापति गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै पूर्व मन्त्री हमालले कांग्रेसकै नेतृत्वमा प्राप्त प्रजातन्त्रले मुलुकमा नागरिक अधिकार र उन्नत लोकतन्त्रको अभ्यास सम्भव भएको बताउनुभयो । नेपाली कांग्रेस बाँकेका सभापति गौडेलले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्र आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुशिला बादीले कांग्रेसको नेतृत्वमा आएको प्रजातन्त्रको जगमा अहिलेका परिवर्तनहरु सम्भव भएको भन्दै ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन पार्टी सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो । दिप प्रज्वलन कार्यक्रममा निवर्तमान पार्टी सभापति किरण कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायत अन्य नेता कार्यकर्ता उपस्थित थिए ।
नेपाली कांग्रेस बाँकेले वडास्तरसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन निर्देशन दिएको थियो । त्यस अनुसार सबैतिर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको सचिव कोइरालाले बताउनुभयो ।
लोकप्रिय न्यूज । ७ फाल्गुन २०७९, आईतवार २०:४२