नेपालगञ्ज, जेठ ३ गते । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले बिश्वव्यापी आर्थिक मन्दीको प्रभाव आगामी आर्थिक वर्ष २०८०/८१ को बार्षिक बजेटमा पर्ने बताउनुभएको छ ।
बाँकेको खजुरा गाउँपालिकाको कार्यालयमा बुधबार आयोजित छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री शर्माले भन्नुभया, “ आर्थिक मन्दीले गर्दा बजेटको आकार घट्छ, कोभिड प्रभावपछि रुस–युक्रेन युद्धको प्रभाव यहाँ पनि देखिएको छ । एकवर्षको अवधीमा दुईवटा निर्वाचन भएका कारण पनि नेपालमा आर्थिक कठिनाईमा थप मद्दत पुगेको शर्माको भनाई छ ।
शर्माले भुटानी शरणार्थी प्रकरण राजनीतिक दल र नेतृत्वका लागि गम्भिर घटना भएको बताउनुभयो । भुटानी शरणार्थी प्रकरणमा मन्त्री र राज्य संयन्त्रको संलग्नता देखिनुले राजनीतिप्रति नै प्रश्न चिन्ह खडा भएको बताउनुभयो ।
पूर्वमन्त्री शर्माले भन्नुभयो , “राजनीतिप्रति पहिले नै आम जनतामा असन्तुष्टी रहेको थियो , भुटानी शरणार्थी प्रकरणपछि जनतामा राजनीतिप्रति नै घृणा उत्पन्न भएको छ । उहाँले यो प्रकरण नेपालको आन्तरिक मात्रै नभए अमेरिक समेत जोडिएका कारण उनीहरुको पनि चासो रहिरहेको बताउनुभयो । तर भ्रष्टाचार नियन्त्रणका लागि यसले राजनीतिक दल र नेतृत्वलाई भने गम्भिर बनाएको दावी गर्नुभयो ।
उहाँले सबै तहका सरकारले बजेट बनाउँदा भौतिक पूर्वाधार मात्रै नभई गरिबी निवारण र रोजगारीसँगै शिक्षा, स्वास्थ्य लगायतका विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । सो अवसरमा लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्री र कृष्णा केसीले सङ्घीयता बलियो बनाउन प्रदेशलाई बलियो बनाउन जोड दिनुभयो ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष डम्बर विक, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले गाउँपालिकाबाट भईरहेका विकास निर्माणका ठुला आयोजनामा निर्माण ब्यवसायीको ढिलाईका कारण समयमै काम सम्पन्न हुन नसकेको बताउनुभयो ।
लोकप्रिय न्यूज । ५ जेष्ठ २०८०, शुक्रबार १२:४८