माओवादीको पालिका अधिवेशन उद्घाटनमा प्रचण्ड खजुरामा, बिभिन्न कार्यक्रममा सहभागी

बाँके, माघ १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको खजुरा गाउँपालिका कमिटीको अधिवेशनलाई बिहिवार खजुरा बजारमा उद्घाटन गर्दै पार्टी प्रवेश गर्नेहरुको लहर आएको दाबी गर्नुभएको छ । एमाले काँग्रेसबाट माओवादी प्रवेश गर्नेहरुको बढ्दै गएको उहाँको भनाइ छ । खबरदारी सभालाई सम्बोधन गर्दै आफ्नो कमीकमजोरी सच्याएर माओवादी जनतासँग एकाकार हुँदै अघि बढेको उहाँले बताउनुभयो ।

उहाँले अहिले भ्रष्टाचारीहरुको सीट धेरै, भ्रष्टाचारका विरुद्ध लड्नेहरुको सीट थोरै भएको कारणले आफूलाई सरकारबाट असंवैधानिक ढंगले हटाएको दावी गर्नुभयो । सो अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले पालिकामा आवश्यक विकास निर्माणका योजना बजेटमा समावेश गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराउनुभयो । बिभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्ड नेताहरु जोखबहादुर महरा, पुर्ण सुवेदी, महेश्वर गहतराज लगायतले स्वागत गर्नुभएको थियो ।

यसैबीच बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजारमा ५०० क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गरिएको छ । खजुरा गाउँपालिकाले करिब ५ करोड रुपियाँको लागतमा निर्माण गरेको सभाहलको पुर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिवार उद्घाटन गर्नुभयो ।
सभाहलको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री दाहालले बहुउद्देश्यीय सभाहलले विकासको आकांक्षा सम्बोधन गर्न र समृद्ध खजुरा बनाउन सहयोग पुग्ने बताउनुभयो ।
सभाहल दुइबर्षमा सम्पन्न गर्नेगरी २०७६ जेठ २१ गते अमर कन्स्ट्रक्सन प्राली कालिमाटी काठमाडौंसंग सम्झौता भएको थियो ।
यसको लागत अनुमान छ करोड ४२ लाख ८९ हजार ७९० रुपियाँ रहेकोमा चार करोड ८५ लाख ६१ हजार ५६१ रुपैयाँमा निर्माण सम्झौता भएको हो । सभाहल तीन हजार ९९९ बर्गमिटर क्षेत्रफलको छ ।

यसैगरी माओवादी अध्यक्ष प्रचण्डले खजुरा ३ स्थित जनता नमुना माविमा निर्माण भएको स्मारकको उद्घाटन गर्नुभएको छ । स्मारक करिब ५० लाखको लागतमा निर्माण भएको खजुरा गाउँपालिकाका ईन्जिनियर सोनु शाहले जानकारी दिनुभयो । पालिकाको २९ लाख १० हजार र स्थानीय जनश्रमदान १९ लाख ५४ हजार ९०६ रुपियाँको लागतमा स्मारक निर्माण गरिएको हो यसअघि अध्यक्ष प्रचण्डले खजुराको धौलागिरीमा सहिद डम्बर रानाभाटको घरमा सहिद परिवारका सदस्यसंग भेटघाट गर्नुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक र उपाध्यक्ष मन्जु मल्लले पालिकाभित्र निर्माण भइरहेका गौरवका आयोजना प्राथमिकता दिएर काम अघि बढाएको बताउनुभयो ।