बाँके, चैत ६ गते । बाँकेका दुई युवाले महाकालीदेखि मेची सम्मको साईकल यात्रा पूरा गर्नुभएको छ । बाँके खजुराका सतिश निरौला र नेपालगञ्जका रमेश मल्लले फागुन २४ गते महाकाली नदी स्थित कञ्चनपुरको कुतियाकभरबाट सुरु गर्नुभएको साईकल यात्रा सोमबारराती झापाको मेची पुल हुँदै केचनाकेवल पुगेर समापन भएको हो । यात्रा अवधीभर दुईजनाले एकसाथ चलाउन मिल्ने टेण्डम साईकलबाट एक हजार ११५ किलोमिटरको यात्रा पूरा गरेको निरौलाले जानकारी दिनुभयो । निरौलाले भन्नुभयो,‘ वातावरण संरक्षण तथा पर्यावरणको पक्षमा सचेतना फैलाउन यो यात्रा गरेका हौं, यात्राका क्रममा मेचीदेखि महाकालीसम्म पाएको साथ र सहयोग सदैब स्मरण रहनेछ । ’
साईकलको पछाडीको भागमा दुईजनालाई चाहिने बन्दोबस्तीका आवश्यक सामग्री राखेर यात्रा सुरु गरेको दुईजनाको टोलीले प्रत्येक दिन करिब एकसय किलोमिटर साईकल चलाएको बताउनुभयो ।
निरौला र मल्लले यसअघि पनि नेपाल र भारतका विभिन्न स्थानमा साईकलबाटै पुग्नुभएको थियो । भारतको जम्मु कश्मिरमा करिब तीनसय किलोमिटर साईकल चलाएको यो जोडीले विभिन्न स्थानमा साईकलबाटै पुग्ने गरेको छ । निरौलाले यसअघि सुर्खेत देखि रारा सम्म र नेपालगञ्जदेखि भारतको नैनीतालसम्म पनि साईकलमै यात्रा गर्नुभएको थियो ।
निरौला र मल्ल सहितको समूहले नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको टुर दि ठाकुरद्वारा साईकलयात्रा गर्दै आएको छ ।
महाकालीदेखि मेची सम्मको साईकलयात्राका क्रममा विभिन्न स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्न पाएको र देशको विभिन्न पक्षबारे बुभ्mने अवसर प्राप्त भएको मल्लले बताउनुभयो । साईकलयात्रा पूरा भएपछि मल्ल र निरौला सार्वजनिक बसमा मङ्गलबार गृह जिल्ला बाँके फिर्ता हुन लाग्नुभएको छ ।
लोकप्रिय न्यूज । ७ चैत्र २०८०, बुधबार २१:३८