बाँकेको खजुरामा परम्परागत सीप बढाउन गाउँपालिकाको सहयोग

नेपालगञ्ज बैशाख ३ गते । बाँकेको खजुरा गाउँपालिकाले परम्परागत कृषि औजार बनाउने र ब्यवसायिक खेती गर्ने किसानहरुलाई सहयोग गर्ने नीति लिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले परम्परागत सीप प्रयोग गरेर ब्यवसाय गरिरहेका ब्यक्तिहरुलाई प्रविधि विकासमा सहयोग गर्ने नीति लिइएको बताउनुभयो ।
कुटो, कोदालो, हँसिया, मादल, बाँसुरी, तामा, फलामका भाँडा बनाउने तथा अन्य कुनै परम्परागत सिपका कार्य गर्ने ब्यक्ति र समूहलाई सहयोग गर्ने निर्णय भएको भन्दै गाउँपालिकाले कृषि शाखामार्फत सम्पर्कमा आउन सार्वजनिक सूचना नै जारि गरेको छ ।
“ यो कार्यले परम्परागत सीप र प्रविधीलाई चीरस्थायी बनाई राख्न सहयोग पुग्ने बिश्वास लिएका छौं,” प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, “ परम्परागत सीपबाट काम गर्ने ब्यक्तिको आयस्तर उठाउन पनि सहयोगको नीति लिइएको हो । गाउँपालिकाका अध्यक्ष डम्बर विकले मौलिकताको संरक्षण गरिने बताउनुभयो ।
यसैगरि गाउँपालिकाले पालिकाभित्रका किसानहरुलाई फुलखेतीमा आकर्षित गर्न खेतीमा सहयोगसँगै बजारीकरणमा पनि सहयोग गर्ने भएको छ । फुल खेती गरेर आयआर्जन गर्न चाहने किसानहरुलाई आगामी आवदेखि सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।
किसानले पालिकाको सहकार्यमा फुलको गुच्छा प्रयोग बढाउन पहल गर्ने र प्रदेश राजधानी लगायत अन्य जिल्लामा फुल आपूर्तीका लागि सहजिकरण गर्ने गाउँपालिकाले जनाएको छ । “खादा मालको साटो फुलको प्रयोग बढाउन पालिकाले आन्तरिक र बाह्यरुपमा सहजिकरण गर्नेछ,” प्रमुख प्रशाकीय अधिकृत सुवेदीले भन्नुभयो,– “फुल खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण किसान बन्नुहुने छ भन्ने पालिकाको अपेक्षा रहेको छ ।” नेपालगञ्ज आफैमा पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्र भएकाले फुल खेतीबाट लाभ लिन सकिने गाउँपालिकाले बिश्वास लिएको सुवेदीको भनाई छ ।