बालसखाको उपचारका लागि खजुरा ४ का युवाले गरे सहयोग

बाँके, चैत ७ गते । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा युवाहरुको सामाजिक सञ्जाल फेसबुकमा ई गाउँ युथको नाममा एउटा समूह छ । यो समुहमा खजुरा ४ ईगाउँ, एफगाउँ, भण्डरिया, पार्वतीपुर, बैजनाथको परशरामपुर लगायतका गाउँका युवाहरु जोडिएका छन् ।

स्वदेश तथा विदेशमा रहेका युवाहरुबीच खबर आदानप्रदानका लागि बनाइएको यो समूहले पछिल्लो समय गाउँघरमा आपत विपद परेको अवस्थामा सहयोगदेखि सामाजिक काममा समेत जोडिन थालेको छ । केही दिनअघि समूहका सदस्य दलबहादुर बुढाक्षेत्री मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाइते भएपछि भारतको लखनउस्थित अपोलो अस्पतालमा उपचार गर्दा करिब २० लाख रुपियाँ खर्च भयो ।

सामान्य परिवारका बुढाक्षेत्रीको उपचारमा समस्या आउन नदिनका लागि समूहका सदस्यहरुले फेसबुकमार्फत सदस्यबीच दुईलाख बढि रुपियाँ जुटाएर बुधबार परिवारलाई हस्तान्तरण गरेको अभियन्ता गोविन्द खत्रीले जानकारी दिनुभयो ।
खत्रीले भन्नुभयो, ‘आज समूहका एकजनालाई परेको समस्या भोली अरुलाई पनि पर्न सक्ने भएकाले सदस्यहरुले सक्दो सहयोग जुटाएर परिवारलाई थोरै भएपनि सहयोग गरेका छौं ।’

समूहका सदस्यहरुबाट स्वदेशमा सङ्कलित एकलाख ५३ हजार ५७४ र वैदेशिक रोजगारीमा रहेका युवाहरुले पठाएको ५१ हजार ४६३ गरि दुईलाख पाँच हजार ३७ रुपियाँ बुढाक्षेत्रीको परिवारलाई हस्तान्तरण गरिएको हो ।
बुढाक्षेत्रीको औषधी उपचारमा करिब बिस लाख रुपियाँ खर्च भईसकेको छ । समय समयमा अस्पतालमा नियमित चकजाँचका लागि जानुपर्ने बुढाक्षेत्रीले बताउनुभयो । उहाँले साथीभाईको सहयोग सदैब स्मरण गर्ने बताउनुभयो ।