बाँके, मङ्सिर ८ गते । पश्चिम नेपालका विभिन्न क्षेत्रमा केन्द्रीत रही विषय विज्ञको सहभागितामा शुक्रबार नेपालगञ्ज कन्क्लेभ भएको छ । महा नायक राजेश हमाल, पाईलट भावना पन्त, मिस नेपाल वल्र्ड–२०२३ श्रृच्छा प्रधान, कर्णाली प्रदेशका मुख्य सचिव चुडामणी पौडेल,अधिकारकर्मी मोहना अन्सारी, साहित्यकार नयनराज पाण्डे, अभिनेत्री सुरक्षा पन्त, सहारा जोशी, धनगढी उप–महानगरपालिकाका प्रमुख गोपी हमाल लगाययतको सहभागितामा खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता ६ वटा विषयमा केन्द्रीत भई वहस भएको आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले जानकारी दिनुभयो । पहिलोसत्र खेलकुदसँग टुटेको कडी ः शिक्षा, स्वास्थ्य र खेलकुद शीर्षकको वहसमा धाविका सन्तोषी श्रेष्ठले खेलकुद स्वास्थ्यका लागि मात्रै नभएर जीवनका लागि समेत जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ खेलाडी बन्नका लागि मात्रै खेलकुदमा सहभागि हुने होइन, खेलकुदले सबैलाई समेट्छ । ’ बरिष्ठ मुटु रोग विशेषज्ञ डा. विकास नेपालले शारीरिक निष्कृयताका कारण धेरैको जीवन जोखिममा पर्ने गरेको बताउँदै स्वास्थ्यका लागि मानिस बाल्य अवस्थादेखि नै सचेत हुनुपर्नेमा जोड दिनुभयो । निजी विद्यालय सञ्चालक सशी स्वारले खेलकुदमा लागेपनि अध्ययनमा कमी हुन्छ भन्ने मानसिकतामा अभिभावकमा देखिने गरेको भन्दै खेलकुदमा लागेका विद्यार्थीको पढाईमा पनि अब्बल हुने गरेको बताउनुभयो । स्वारले भन्नुभयो, ‘ खेलकुदमा लागेका विदार्थी अनुशासित हुने भएकाले पढाईमा पनि सहयोग पुग्ने गरेको पाइएको छ । ’ कर्णाली प्रदेशका मुख्य सचिव चुडामणी पौडेलले नेपालमा खेलकुदको विकासका लागि नीति नियम र कानून भएपनि त्यसको सहि कायाृन्वयन हुन नसक्दा र बजेट अभावमा खेल क्षेत्रले सोचे जस्तो प्रगति गर्न नसकेको बताउनुभयो । पौडेलले भन्नुभयो, ‘खेल पर्यटनको माध्यमबाट लाभ लिन सकिन्छ, यसबाट राष्ट्रियता पनि मजबुत हुन्छ । ’ नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सिङ्गो पश्चिम क्षेत्रको विकासका लागि योजना बनाउन कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।
लोकप्रिय न्यूज । ८ मंसिर २०८०, शुक्रबार २१:०३