नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योग मन्त्री रिजाललाई बुझायो ११ बुँदे ज्ञापन पत्र

नेपालगन्ज, असोज ४ । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले उद्योगी व्यवसायीका समस्या समाधानका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ११ बुँदे ज्ञापनपत्र बुझाएकोे छ ।

मन्त्री रिजाल बाँकेमा आउनु भएको अवसरमा बिहीबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर संघका नवनिर्वाचित अध्यक्ष टंक बहादुर धामीले ज्ञापनपत्र बुझाउनु भएको हो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरी, संघका पूर्र्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कार्यसमितिका वहालवाला र पूर्व पदाधिकारी तथा सदस्यका साथै ठूलो संख्यामा उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियोे ।

संघका अध्यक्ष टंक बहादुर धामीले मन्त्री रिजाललाई हस्तान्तरण गरेको ज्ञापन पत्रमा जमुनाहा नाकाबाट अवैध रुपमा करोडौंको सामान भित्रिँदा स्वदेशी उद्योगी व्यवसायी मारमा परेकाले सीमा नाका व्यवस्थित गर्नुपर्ने र आयातमा रहेको अव्यवहारिक भन्सार नीति सच्चाउनुपर्ने माग गरेको छ । पटक पटक विद्युत जाँदा औद्योगिक प्रतिष्ठानका उत्पादन बिग्रेर खेर जाने र मेसिनरी सामानहरु बिग्रने समस्या धेरै भएकाले उद्योगहरुमा नियमित रुपमा सहज आपूर्ति गर्न ब्यवस्था गर्न र उत्पादनमूलक उद्योगलाई सहुलियत दरको बैंक ब्याज उपलब्ध गराउन माग गरेको छ । त्यसैगरी शिलन्यास गरिएको नौबस्ता औद्योगिक क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने, नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आइसीपी)को काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने रहेको छ । उद्योगी व्यवसायीलाई सहजताका लागि नेपालगन्जमा कम्पनी रजिष्टारको कार्यालय खोल्नुपर्ने, उद्योगी–व्यवसायीमैत्री नीति बनाएर पर्यटन उद्योगलाई प्रबद्र्धन गर्नुपर्ने, बाँकेमा जडिबुटीमा आधारित औषधि उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने र जडिबुटी निर्यातको समस्या समाधान गर्न नेपाल र भारतका सरकार स्तरमा संवाद गर्नुपर्ने माग रहेका छन् । संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरकारले उद्योगी व्यवसायीलाई संंरक्षणमुखी नीति लिन सुुझाव दिनु भएको थियो ।

ज्ञापन पत्र बुझिसकेपछि मन्त्री रिजालले निराश नहुन आग्रह गर्दै उद्योगी व्यवसायीलाई धेरै सेवा सुविधा दिने गरी सरकारले काम गर्न लागेको बताउनु भएको थियो । उहाँले नौबस्ता औैद्योगिक क्षेत्रमा न्यूनतम् चार्ज लिने गरी उद्योगीहरुलाई सहुलियत दिने र सञ्चालनका लागि पहल गर्न मन्त्रालयका सचिवलाई सरोकारवालासँग छलफल गर्न आग्रह गर्नुभयोे ।
सो अवसरमा संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले उद्योगीका समस्या समाधान गर्न मन्त्री रिजाललाई ध्यानाकर्षण गरेका गरेको प्रबक्ता डम्बर बहादुर चन्दले बताउनुभयो ।
                                   

                                       कार्यकर्ता भेटघाटमा मन्त्री रिजाल
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको मनोबल उच्च नहुँदासम्म मुलुक समृद्धितर्फ अग्रसर हुन नसक्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले उद्योगी व्यवसायीप्रति नकारात्मक सोच रहेको भन्दै त्यस्तो सोच नहटाउँदासम्म उद्योग व्यवसाय फस्टाउन नसक्ने बताउनुभयो । उद्योग व्यवसाय नफस्टाउँदासम्म मुलुक समृद्धिको यात्रामा अगाडि बढ्न नसक्ने मन्त्री रिजालको भनाई छ । उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार तत्पर रहेको बताउँदै उहाँले उद्योगी व्यवसायीको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताउनुभयो । बाँके नौवस्तास्थित औद्योगिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम गर्ने उहाँको भनाई छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री रिजालले उच्च मनोबलका साथ काम गर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभयो । लोकतन्त्रको विकास र स्थायित्वका लागि विचलित नभएर आ–आफ्नो कार्यक्षेत्रमा लाग्न उहाँको आग्रह छ । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।