माघ १० गतेदेखि नेपालगञ्जमा हुने प्रादेशिक महोत्सवको तयारी पूरा

बाँके,माघ ८ गते । नेपालगञ्ज उद्योग बाणिज्य सङ्घको आयोजनामा यहिँ माघ १० देखि सुरु हुने प्रादेशिक महोत्सवको तयारी करिब पूरा भएको छ । आयोजक नेपालगञ्ज उद्योग बाणिज्य सङ्घले मङ्गलबार पत्रकार सम्मेलन गरि महोत्सवको तयारी करिब पुरा भएको जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष टङ्क धामीले सडक डिभिजन कार्यालय परिसरमा उद्योग, व्यापार कृषि जडिबुटी, रोजगार सूचना प्रविधि र पर्यटन व्यवसायीक उद्यमशाला तथा कला सँस्कृतिको प्रवद्र्धन भन्ने मुल नाराका साथ प्रादेशिक महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । महोत्सव २२ गतेसम्म चल्नेछ । अध्यक्ष धामीले भन्नुभयो,‘ स्थानीय उत्पादनको प्रचारप्रसारलाई महोत्सवले सहयोग पुने बिश्वास लिएका छौं ।’ महोत्सवको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुहुनेछ ।

सङ्घको मुख्य आयोजना एवं नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना र क्यान महासङ्घ बाँकेको सहकार्यमा महोत्सव हुन लागेको सङ्घका महासचिव भिमबहादुर रानाभाटले जानकारी दिनुभयो ।
महोत्सवमा स्वदेशमा उत्पादित बस्तुहरू, राष्ट्रिय स्तरको जडीबुटी प्रदर्शनी, हस्तकला, कृषि, पर्यटन सुचना तथा विज्ञान प्रविधि, अटो मोबाईल्स तथा मित्रराष्ट्रका विभिन्न उद्यमशाला तथा उद्योगको प्रदर्शनी गरिने भएको छ ।
नेपालगञ्ज ब्यापार सङ्घघको नामबाट २०२४ सालमा स्थापना भएको सङ्घले २०५६ साल देखि निरन्तर महोत्सव सञ्चालन गर्दै आएको छ । पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अव्दुलवाहिद मन्सुरी लगायतको सहभागिता थियो ।