बाँकेको जानकीमा ५३ जनाले गरे रक्तदान

नेपालगन्ज, ३० फाल्गुन । समृद्धि फाउण्डेशन नेपाल बाँकेले बुधवार बाँकेको जानकी-३ मा रक्दान कार्यक्रम सम्पन्न गरेको छ । जानकी गाउँपालिका ३ नं.वडा कार्यालयको आर्थिक सहयोगमा फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।


नेपाल स्वयंसेवी रक्तदाता समाजको समन्वयमा फाउण्डेशनले वडा कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट संकलन भएको रगत वडाबासीलाई आवश्यक परेको बेला सहज रुपमा उपलब्ध गराउन सकिने बताउदैं जानकी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार वर्माले रक्दान मानव सेवाका लागि अमुल्य दान भएकोले कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार दुर्घटना, अप्रेसन जस्ता तत्काल सेवा दिनुपर्ने अवस्थाका विरामीका लागि आपत्कालीन समयमा रगतको आवश्यकता पर्ने र सो समयमा रक्तदाता खोज्न पनि समस्या हुने भएकोले रक्दानका लागि जनचेतना सहित रक्दान कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र नेपालगन्ज बाँकेको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष महेश कुमार चौधरीले जानकारी दिए । समुदायका युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ वडा कार्यालयमै कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चौधरीले बताए ।


रक्तदान कार्यक्रममा वडाबासी उत्साहित भएर सहभागी भएका थिए । स्थानीय समाजसेवी र राजनीतिक दलका अगुवाहरुले समेत कार्यक्रम सफल बनाउन समन्वय गरेका थिए । रक्दान कार्यक्रममा रक्तदातालाई केन्द्रसम्म ल्याउन र रक्तदानको महत्व तथा आवश्यकताका बारेमा स्थानीयलाई जानकारी गराई बढि भन्दा बढि रक्तदाता कार्यक्रममा सहभागी हुन सहयोग गरेको स्थानीय अध्यक्ष आब्बाद सिद्दिकीले जानकारी दिए । रक्तदानका लागि विभिन्न राजनीति दलमा आस्था राख्ने युवाको सहभागीता रहेको थियोे ।