नेपालगञ्ज, असार ३ । नेपालगन्ज उपमहानगरपालिकाले साउन १ गतेदेखि ‘घरदेखि अस्पतालसम्म’ चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवालिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन साउन १ गतेदेखि निःशुल्क एम्बुलेन्स सेवा संचालनगर्न लागिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।
नेपालगन्जउपमहानगरपालिका भित्र २० वटा एम्बुलेन्स संचालनमा छन् । ती एम्बुलेन्सहरुमध्ये पालैपालो एउटा एम्बुलेन्स चौबिसे घण्टा नेपालगन्ज उपमहानगरपालिका कार्यालयभित्र स्ट्याण्डबाई रहनेछ । अन्य एम्बुलेन्सले पनि आवश्यकताका आधारमा निःशुल्क सेवा प्रदान गर्नेछन् ।
निःशुल्कएम्बुलेन्स सेवालाई प्रभावकारी बनाउनएम्बुलेन्स संचालक र चालकहरुसंग आईतबार छलफल गरिएको छ । नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको वैठकमा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य महाशाखाप्रमुख रामबहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्यअधिकृत नरेशबाबु श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत रोशनी पुन, एम्बुलेन्स संचालक, चालक लगायत उपस्थिती रहेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजनकुमार शाहीले जानकारी दिनुभयो ।
लोकप्रिय न्यूज । ४ असार २०८०, सोमबार १२:५२