प्रतिकुल मौसमका कारण नेपालगञ्ज महोत्सवमा ज्योती मगरको प्रस्तुती बिहिबार हुने

नेपालगञ्ज,चैत ७ । नेपालगन्जको वाटरपार्कमा मङ्गलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तेस्रो दिन बिहीबार ज्योती मगरको बेजोड प्रस्तुती रहने भएको छ ।
प्रतिकुल मौसमका कारण बुधबार ज्योती मगरसहितका राष्ट्रिय कलाकारको प्रस्तुती हुने पूर्वनिर्धारित कार्यक्रम बिहीबार हुने भएको हो । बुधबार स्थानीय कलाकारले आफ्नो प्रस्तु्तीमार्फत दर्शकलाई नचाए ।

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अनुसार बुधबारको पूर्वनिर्धारित सबै कलाकारहरुको बिहीबार प्रस्तुती रहेनछ । बिहीबार विहान ११ बजेदेखि स्थानीय कलाकारको प्रस्तुती रहनेछ भने दिउँसो २ बजेपछि राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ ।

मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवको तेस्रो दिन गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्ने आयोजक महासंघका प्रचारप्रसार संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । ज्याती मगरका साथ तेस्रो दिन गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको प्रस्तुती रहनेछ । भने पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले उक्त कार्यक्रमको सञ्चालन गर्नेछन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ ।

चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका समयमा होली पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ ।
महासंघ, बाँकेका अध्यक्ष मधुकुमारी खड्काका अनुसार महोत्सवमा १७५ स्टल छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा रु दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।