बाँकेमा आध्यात्मिक महोत्सवबाट १५ करोड आय हुने अनुमान

बाँके, असोज १९ गते । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित राप्तीनदीको किनार सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि आयोजना गर्न लागिएको आध्यात्मिक महोत्सव सञ्चालन हुनुभन्दा पहिले नै सहयोग रकम जुटन थालेको छ । महोत्सव मुल समितिका उप संयोजक भोला महतका अनुसार हालसम्म करिब १० लाख रुपिया सहयोग संकलन भइसकेको छ ।

सिधनियाघाटमा श्मसानघाट(बैकुण्ठधाम) निर्माणका लागि कात्तिक २२ देखि ३० गतेसम्म नेपालगञ्जको रामलिला मैदानमा आध्यात्मिक महोत्सव सञ्चालन गरिदैंछ ।

बैकुण्ठधाम निर्माणका लागि नदी किनारमा करिव ३ बिघा जग्गा आवश्यक पर्ने र तत्कालका लागि २८ कठ्ठा जग्गा खरिद्का लागि जग्गा धनिलाई बयाना दिइसकिएको महोत्सव समितिका संयोजक डा. सुरेश कनोडियाले जानकारी दिनुभयो । जसमध्ये १४ कठ्ठा जग्गाधनीले निशुल्क उपलब्ध गराउने र १४ कठ्ठा समितिले खरिद गर्ने तयारी छ । डाक्टर कनोडियाले भन्नुभयो ‘ सुविधा सम्पन्न र सुव्यवस्थित घाट निर्माण गर्न लागिपरेका छौ । ’

बैकुण्ठधाममा अग्नि दाह स्थलसंगै बिद्धुतिय शवदाह गृह,मलामिका लागि ओत लाग्ने थलो,शिवालय,किरियापुत्री कक्ष, पृतिको मृत्युकर्म, सोर्ह श्राद्दकर्म,पृती मोक्षका कर्म काण्ड लगायतका कार्य सम्पन्न गर्ने सहज घाट बैकुण्ठ धामको रुपमा विकास गर्ने अवधारणा रहेको छ ।

आयोजकले सनिवार पण्डित दिनबन्धु पोख्रेलको उपस्थितिमा शनिबार पत्रकार भेटघाट गरि सबैको साथ र सहयोगका लागि आग्रह गरेको छ । महोत्सवबाट करिव १५ करोड आय हुने अनुमान गरिएको छ ।