बाँके, फागुन ७ गते । बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभावी फोहर फाल्ने ब्यक्तिहरुलाई पक्राउ गरी जरिबाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाईबुझाई छोडिएपनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिबाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
“यो नगर हामी सबैको हो, नगर सफा र सुन्दर बनाउने जिम्मेवारी पनि हामी सबैको हो,” नगर प्रमुख आचार्यले भन्नुभयो,– “हामीहरुलाई कसैलाई पनि जरिबाना तिराउन नपरोस र पुरस्कृत गर्नुपरोस भन्ने चाहना रहेको छ । कोहलपुर नगरलाई सुन्दर बनाउने जिम्मेवारी सम्पूर्ण नगरबासीको रहेको भन्दै उहाँले महिनौ देखि बारम्बार विनम्रतापुर्बक अनुरोध गर्दा समेत अटेर गर्ने प्रवृत्ति बढेपनि कारवाही गर्न थालिएको बताउनुभयो ।
जथाभावी फोहर गर्ने व्यक्ति, सङ्घ सस्था,ब्यावसायिक फर्म, सबैलाई कारवाहीको दायरामा ल्याइने उहाँको भनाई छ । केही दिनअघि स्कुटरमा राखेर फोहर रेडक्रस पछाडी सडक छेउमा फोहर फाल्नेक्रममा एकजना ब्यक्तिलाई नगर प्रहरीले पाँच हजार जरिबाना तिराएको थियो । नगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्न निषेध गरेको छ । लुम्विनी सहित सुदुरपश्चिम र कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा कोहलपुर क्षेत्रलाई सुन्दर, सफा र रमणीय बनाउनका लागि सम्पूर्ण नगरबासीको साथ र सहयोग चाहिएको भन्दै नगर प्रमुख आचार्यले सार्वजनिक स्थानमा जथाभावी फोहर गर्ने कार्य निरत्साहित गर्न जरुरी भएको बताउनुभयो । सरसफाईका लागि नगरपालिकाले सरसफाईकर्मी राखेको छ भने नगर प्रहरीले समेत सहयोग गर्दै आईरहेका छन् ।
लोकप्रिय न्यूज । ७ फाल्गुन २०७९, आईतवार १२:०९