नेपालगञ्ज, माघ ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी आईतबार दादुरा महामारी फैलिएको नेपालगञ्ज ५ फुल्टेक्रा पुगेर स्थानीय बासिन्दासँग छलफल गर्नुभएको छ । मन्त्री गिरीले दादुराको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी योजना बनाउन सहयोग पुग्ने भएकाले मन्त्रालयको टोली प्रभावित क्षेत्रमा आएको बताउनुभयो ।
सो अवसरमा मन्त्री गिरीलाई नेपालगञ्ज ५ का वडा अध्यक्ष सराफत हुसेन शेषले स्थानीय बस्तुस्थितीबारे जानकारी गराउनुभएको थियो । मन्त्री गिरी सहित मन्त्रालयका सचिव डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह लगायतको टोली दादुरा प्रभावित क्षेत्रको स्थलगत अनूगमनमा आएको छ । दादुराबाट बाँकेमा एकजना ३१ महिने बालकको निधन भएको छ भने हालसम्म २६० जना विरामी भेटिएका छन् । जिल्लामा खोप अभियान जारी छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरी आईतबार नै भेरी अस्पताल पुगेर स्थलगत अनूगमन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री गिरीले विरामी र उनीहरुका आफन्तसँग समेत सेवा प्रवाहबारे छलफल गर्नुभयो । मन्त्री गिरीले डायलासिस सेवा विस्तारको शुभारम्भ गर्दै भेरी अस्पतालले सिमित श्रोत साधनका बावजुद गरिरहेको गुणस्तरीय स्वास्थ्य सेवाको प्रशंसा गर्नुभयो । मन्त्री गिरीलाई अस्पतालका प्रमुख डा. बद्री चापागाई, अध्यक्ष प्रमोद धितालले विभिन्न विषयमा जानकारी गराउनुभएको थियो । मन्त्री गिरीले आईतबार नै खजुरा क्यान्सर अस्पतालको निरीक्षण गर्ने कार्यक्रम छ ।
लोकप्रिय न्यूज । ८ माघ २०७९, आईतवार १२:५६