शान्ति र सद्भावको पक्षमा नेपालगञ्जबासी

नेपालगञ्ज, असोज १६ गते । शान्ति र सद्भावको अपिल सहित नेपालगञ्जमा मङ्गलबार विहान सद्भाव ¥यालीको आयोजना गरिएको छ ।
नेपालगञ्जको विपी चोकबाट सुरु भएको ¥यालीमा धर्मगुरुहरु, राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, राष्ट्रसेवक कर्मचारी लगायतको सहभागिता रहेको थियो । धम्बोझी चोकमा आयोजित सद्भावसभामा हिन्दु धर्मगुरु चन्द्रनाथ योगीले नेपालगञ्जमा अहिले पनि शान्ति र सद्भाव रहेको भन्दै कोही पनि विचलित हुने गरि गलत क्रियाकलापमा सहभागी नहुन आग्रह गर्नुभयो ।

उहाँले कोही पनि अराजक बन्न नहुने भन्दै सामाजिक सद्भावको पक्षमा एकजुट हुन आग्रह गर्नुभयो । हिन्दु समुदायले उठाएका मागहरु कानून अनुसार कारवाहीको प्रक्रियामा नगए आफु पनि आन्दोलनमा सहभागी हुने भन्दै कानून अनुसार अघि बढ्न सुझाव दिनुभयो ।
मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीले नेपालगञ्जले देश विदेशमा शान्ति र सद्भावको सन्देश दिइएको भन्दै सम्पूर्ण नगरबासी सचेत भई एकजुट हुनुपर्ने बताउनुभयो ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा मङ्गलबार आयोजना गरिएको बन्द फिर्ता भएको जानकारी दिदैं कानून अनुसार गलत गतिविधि गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कानून उल्लङ्घन गर्ने जोकाही पनि तत्काल कारवाहीको दायरामा आउने बताउनुभयो ।
सामाजिक सञ्जालमा धर्म, समुदाय विरुद्ध अभिब्यक्ति दिइएको भन्दै आईतबार नेपालगञ्जमा एकाएका प्रदर्शन भएपछि त्यसको प्रतिक्रिया स्वरुप नेपालगञ्जमा मङ्गलबार बन्दको आव्हान गरिएपछि सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णय अनुसार सद्भाव ¥याली निकालिएको हो ।