बाँकेका भण्डारीलाल कृषि मन्त्री नियुक्त

नेपालगञ्ज, फागुन ७ । बाँके क्षेत्र नम्बर २(१) बाट निर्वाचित प्रदेश सांसद भण्डारीलाल यादव लुम्विनी प्रदेश सरकारको कृषि तथा भुमि ब्यवस्था मन्त्री नियुक्त हुनुभएको छ । मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । यादव मन्त्री भएपछि मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रपिरिषदको कार्यालयको मन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि केन्द्रमा सहमति नभएको भन्दै सरकारलाई समर्थन जनाएको जसपा सरकारमा सहभागी भएको थिएन ।

शिक्षक पेशाबाट राजनीतिमा प्रवेश गरेका यादव २०७४ सालमा डुडुवा ३ को वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो । २०७९ को स्थानीय तहमा डुडुवाको अध्यक्षमा पराजित यादव ६ महिनापछि भएको निर्वाचनमा प्रदेश सांसदमा विजयी हुनुभएको थियो ।