बाँके, साउन ३२ गते । बाँकेमा प्रहरी ईकाईहरुमा पछिल्लो समय बैङिकङ कसुरका उजुरीहरु बढ्दोक्रममा रहेका छन् । विभिन्न बैङ्कको चेक दिएपनि निर्धारित समयमा नासटिएको दावी सहित उजुरी पर्नेक्रम दिनदिनै बढिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक डाङ्गीले भन्नुभयो,‘ जिल्ला प्रहरी र मातहतका प्रहरी कार्यालयमा दिनानुदिन यसखालका उजुरी आउने गरेका छन् ।’
डिएसपी डाङ्गीका अनुसार गत आर्थिकवर्ष २०७९–८० मा ३०५ वटा बैङ्किङ कसुरका मुद्धा दर्ता भएका छन् । आर्थिकबर्ष २०७८–७९ मा यसखालका ७५ मुद्दा दर्ता भएकोमा आर्थिकबर्ष २०७७–७८ मा भने यसखालका १४ वटा मुद्दा मात्रै दर्ता भएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय चेकमार्फत कारोबार हुने तर निर्धारित समयमा चेक नसाटिएको भन्दै पीडितहरु उजुरी लिएर प्रहरी कार्यालयमा पुग्ने गरेका छन् ।
पीडितहरुका अनुसार प्रहरीमा निवेदन परेपछि प्रारम्भिकचरणमा छलफलको माध्यमबाट टुङ्गोमा पु¥याउने गरिएको छ । चेक दिएका ब्यक्तिहरु सम्पर्कमा नआउने वा रकम तिर्न इन्कार गरेमा मुद्धा दर्ता गर्ने गरिएको छ । चेक अनादरमा कारवाहीका लागि प्रहरीमा उजुरी दिएका ब्यक्तिले सानो रकममा प्रहरीले मुद्धा दर्ताका लागि चासो नदिने गरेको गुनासो गरेका छन् । प्रहरीले सकेसम्म आपसमा मिलापत्र गराएर सहमतिमा यसखालका समस्याको समाधानका लागि पहल गर्दै आएको जनाएको छ ।
लोकप्रिय न्यूज । ३२ श्रावण २०८०, बिहीबार १०:५३