बाँकेको खजुरामा अधिकाँश गौरवका योजना अधुरा

निर्माण ब्यवसायीलाई निर्देशन

बाँके, चैत १७ गते । बाँकेको खजुरा गाउँपालिकामा २०७८ साल भदौं ३० गते सम्पन्न हुने गरी निर्माण सुरु भएको शित भण्डार अझै अधुरो रहेको छ । रविना/अभियान/जुगल जेभी तिनकुनेले ६ करोड १४ लाख रुपियाँको लागतमा निर्माणको जिम्मा लिएको भएपनि पालिकाको गौरवका आयोजनाको काम सम्पन्न हुन सकेको छैन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार पालिकामा सञ्चालित अधिकाँश गौरवका आयोजनाको निर्माणमा ढिलाई भएको छ । पालिकाले बढि लागतका योजनालाई गौरवको आयोजनाको रुपमा समावेश गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार आव २०७७/७८ मा सुरु भएको १५ सय्याको अस्पताल,शित भण्डार, वहुउद्धेश्यीय सभाहलको काम हालसम्म पनि सम्पन्न हुन सकेको छैन । यसैगरी सडक र नाली सहितका २० वटा योजनाको काम निर्माण ब्यवसायीहरुको लापरवाहीका कारण समयमै सम्पन्न हुन नसकेको गाउँपालिकाले जनाएको छ ।
पालिकाबाट बजेट विनियोजन भएर काम सुरु भएपछि उत्साहित भएका स्थानीय बासिन्दाहरु अहिले समयमै काम सम्पन्न नभई अधुरो रहेपछि निराश बन्न थालेका छन् ।

“आव २०७५/७६ देखिका योजनाहरु समेत निर्माण सम्पन्न नभएको अवस्था छ,” प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो,– “निर्माण ब्यवसायीहरुले काम नसक्दा निर्माण कार्यका लागि आएको पैसा फ्रीज हुने र पालिकालाइ अनावश्यक दायित्व बढ्दै गएको छ ।” योजनाहरु अधुरा हुँदा आम जनतामा नैराश्यता उत्पन्न भएको र दायित्व थपिएको कारण अन्य विकास निर्माण समेत प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।

पुराना योजना मात्रै नभई चालु आर्थिक बर्षका योजनाको समेत सन्तोषजनक प्रगति देखिएको छैन । चालु आवमा २६ योजनाहरु ठेक्का प्रक्रियाबाट सञ्चालन हुने गरि सम्झौता भएकोमा केही योजना हालसम्म कार्यान्वयन भएका छैनन । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरवहादुर बिकले ठेक्का लिने तर समयमै काम नगर्ने परिपार्टी बन्न थालेको भन्दै यसबाट समग्र विकास निर्माण नै प्रभावित बन्न थालेकाले अबका दिनमा कडाईका साथ प्रस्तुत हुने बताउनुभयो ।

विकास निर्माणका काममा ढिला सुस्ती गर्ने निर्माण ब्यवसायीहरुलाई छिटो काम अघि बढाउन सचेत गराउदै पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ । तत्कालै निर्माण कार्य अघि नबढाए खरिद ऐन र प्रचलित कानुन अनुसार कारवाहीको प्रक्रियामा जाने चेतावनी गाउँपालिकाले दिएको छ । गाउँपालिकाले आगामी दिनमा उपयुक्त मनासिव कारण बाहेक कुनै पनि सर्तमा ठेक्का सम्झौताको म्याद थप नगर्ने प्रष्ट पारेको छ । गाउँपालिकाले सम्वद्ध निर्माण ब्यवसायीलाई कार्यालयमा बोलाएर तत्काल काम अघि बढाउन निर्देशन दिएको छ ।

( साभार – गोरखापत्र अनलाइन )