नेपालगन्जमा जिल्लाकै सबैभन्दा ठूलो बागेश्वरी फुट्सल संचालनमा

बाँके – बाँके जिल्लामा अर्को फुट्सल पनि संचालनमा आएको छ । आइतबारदेखि बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव संचालनमा आएसँगै नेपालगञ्जमा फुट्सलको संख्या तीन पुगेको हो । तीनवटै फुट्सल नेपालगन्जमा रहेका छन् । जसमध्ये बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव जिल्लाकै सबैभन्दा ठूलो फुट्सल रहेको जनाइएको छ ।

बागेश्वरी फुट्सलका अध्यक्ष प्रितम विष्टका अनुसार बागेश्वरी फुट्सलको आकार २०×३८ मिटर रहेको छ । जुन नेपालगन्जमा रहेका अन्य फुट्सलभन्दा ठूलो हो । ‘हामीले नेपालगन्जमा केही नयाँ गरौंं भनेर स्वास्थ्यका लागि खेलकुद नारा राखेर बागेश्वरी फुट्सल सुरु गरेका छौं र नेपालगन्जमा रहेका अन्य फुट्सलभन्दा पनि यो ठूलो छ,’ अध्यक्ष विष्टले भन्नुभयो।

विष्टले हालसम्म बागेश्वरी फुट्सलमा ७० लाख रुपैयाँको लगानी भई सकेको बताउँदै बाँकी केही संरचना निर्माण गर्नका लागि थप रकम खर्च हुने बताउनुभयो । हाल बागेश्वरी फुट्सलमा खेल मैदानसँगै शौचालय, चेन्जिङ कोठालगायतका संरचना निर्माण भई सकेको छ । आइतबारदेखि संचालनमा आएको बागेश्वरी फुट्सलको उद्घाटन नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले गर्नुभयो । विष्टले रिबन काटेर बागेश्वरी फुुट्सलको उद्घाटन गर्दै फुट्सल पनि खेल्नुभयो ।

सो क्रममा विष्टले नेपालगन्जमा फुट्सलप्रति युवाहरुको आकर्षण बढ्दै गएको बताउँदै ‘स्वास्थ्यको लागि खेलकुद’ नारालाई बागेश्वरी फुट्सल एउटा खुट्किलो बनेको बताउनुभयो । उहाँले नेपालगन्जसँगै समग्र जिल्लालाई बागेश्वरी फुट्सलले समेट्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । बागेश्वरी फुट्सलले नियमित फुट्सल खेल्न आउने प्र्रति व्यक्तिको लागि मासिक २ हजार र समूहका लागि २२ हजार रुपैयाँ मासिक शुल्क तोकेको । साथै उद्घाटनको अवसरमा आयोजकले फुट्सल प्रतियोगिता आयोजना गर्नुको साथै छुटको पनि व्यवस्था गरिएको थियो ।