बाँके, साउन १६ गते । नेकपा (एमाले) बाँकेको नेपालगञ्जस्थित जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । पार्टी सदस्यहरुको नविकरण नगरिदिएको भन्दै पार्टीको बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा मङ्गलबार तालाबन्दी गरिएको हो ।
कमिटीका सचिव प्रेम सुवेदीले जिल्ला कार्यालयमा नविकरणका लागि विवरणसहित पठाइएको भएपनि नविकरण नगरिदिएपछि तालाबन्दी गर्न बाध्य भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ पार्टी सदस्यको नविकरण र रुजुका लागि समय उपलब्ध नगराउँदा सम्म अनिश्चितकालिन तालाबन्दी जस्तो अप्रिय निर्णय गरिएको छ ।’ कमिटीका अध्यक्ष इन्द्रबहादुर थापाको अगुवाईमा भएको तालाबन्दीमा प्रदेश कमिटीका सदस्यहरु घननाथ खनाल, मानबहादुर रुचाल, नन्द बिश्वकर्मा लगायतका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
बैजनाथ गाउँपालिका कमिटीका तर्फबाट २०७९ को एकहजार १४ जना र २०८० को ७१४ जनाको पार्टी सदस्यता नविकरण गरि जिल्ला पार्टी कार्यालयमा सम्पूर्ण विवरण सहित बुझाउँदा समेत पार्टी सदस्यता नविकरण नगरिदिएको दावी पालिका कमिटीको छ । जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले पार्टीलाई प्रालिको सदस्यता रोक लगाएजस्तो गरि पार्टी सदस्यता नविकरणमा रोक लगाएको दावी कमिटीको छ ।
पालिका कमिटीले पार्टी सदस्यता नविकरण गर्न पाउने अधिकारमाथि पार्टी जिल्ला अध्यक्ष कक्षपतिले बञ्चित गरेकोमा सो कार्यको निन्दा समेत गरेको छ । आसन्न जिल्ला अधिवेशनमा आफुलाई समर्थन नहुने देखेपछि बैजनाथ पालिकाका अधिकाँश पार्टी सदस्यहरुको नविकरण रोकिएको एकजना जिल्ला कमिटी सदस्यले बताउनुभयो । अध्यक्ष कक्षपति जिल्ला अधिवेशनमा अध्यक्षको दाबेदारको रुपमा रहनुभएको छ । ( गोरखापत्र अनलाइनबाट )
लोकप्रिय न्यूज । १६ श्रावण २०८०, मंगलवार १८:१६