लिपुलेकका विषयमा देउवा र ओलीबीच जुहारी

नेकपा एमालेले दार्चुलाबाट चुनावी प्रचार अभियान शुरु गर्‍याे । दार्चुलाबाट प्रचार अभियान शुरु गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दालाई मुख्य चुनावी मुद्दा बनाएको प्रष्ट सन्देश दिए ।

विगतका नाकाबन्दीको सामना गरेर राष्ट्रवादी नेताका रूपमा आफूलाई स्थापित गरेका एमाले अध्यक्ष ओलीले यसपटक कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा अनुसार नेपाली भूमि फिर्ताको विषय उठाए ।

दार्चुलाको सदरमुकाम खलंगामा चुनावी अभियानको पहिलो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव जिते कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउने दाबी (ज्ञारेण्टी) गरे । ओलीले भनेका छन्, ‘हामीले नक्सा जारी गरेका छौँ, संसद्ले सर्वसम्मतले पारित गरेको छ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ ।’

यही बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवहारतः सीमामा पुग्न चेतावनी दिएर व्यवहारतः राष्ट्रवादी कार्ड चिर्ने प्रयास गरेका छन् । राष्ट्रवादी कार्ड चिर्ने र आफू राष्ट्रवादी देखिन शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीलाई बन्दुक लिएर सीमामा लड्न जान चुनौती दिएका छन् ।

डडेलधुराको भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीलाई जवाफ फर्काएका हुन् । ओलीप्रति लक्षित गर्दै देउवाले भने ‘भाषण गरेर फिर्ता हुने भए काठमाडौँमै भाषण गरे भइहाल्थ्यो नि !’

कूटनैतिक माध्यमबाट मात्र नेपालले गुमेको भूभाग फिर्ता ल्याउनुबाहेक अर्को विकल्प नभएको देउवाको भनाइ छ । ‘यस्तो संवेदनशील विषयलाई भोट माग्ने माध्यम बनाउनु अनुचित हो’ देउवाले भने । प्रतिपक्षी दलका नेता ओलीले आफ्नो पहिलो चुनावी सभामा लिपुलेकको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाउँदै आफ्नो कारणले चुच्चे नक्सा पास भएको बताएका थिए । ओलीले एमालेले सरकार बनाएर गुमेको भूमि फिर्ता ल्याउने आश्वासन पनि दार्चुलावासीलाई दिएका थिए । ओलीले राष्ट्रियताका मामिला गठबन्धन दलहरू अनुत्तरदायी भएको आरोप पनि लगाएका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रमुख चुनावी मुद्दा नै लिपुलेकको विषयलाई बनाएपछि बनाएपछि सत्ता र प्रतिपक्ष दुवै नेताबीच जुहारी चलेको छ । ओलीको चुनाव जिते फिर्ता ल्याउने दाबीको काउण्टरमा देउवाले संवेदनशील विषयलाई भोट माग्ने माध्यम बनाउनु अनुचित भएको बताएका हुन् ।

यही बेला नेकपा एमालेका नेता भीम रावलले पनि राष्ट्रियताको विषय जोड्दै कांग्रेस सभापति देउवाप्रति व्यङ्ग्य कसेका छन् । उनले ट्विट गरेका छन्, ‘प्रमं देउवा जी दार्चुलाको सदरमुकाम खलंगा पारि महाकालीमा भारतले तटबन्ध निर्माण गर्न मनपरी नेपालबाट ढुंगा लिँदैछ, स्थानीय जनता आक्रोशित छन् । यसबारे तपाईँले डडेलधुराको सभामा केही बोल्नु भयो कि ? भारत सरकार समक्ष विरोध जनाउने वा कुरा गर्ने केही काम गर्नु भयो कि ? कि यसले तपाईँलाई छुँदैन ?’