नेपालगञ्जको कारकादौंमा एकसाथ २५ सडक बन्दैं

नेपालगञ्ज, फागुन २६ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौंमा एकसाथ २५ वटा सडक निर्माण गरिदैंछ । वडा अध्यक्ष दिपक वर्माका अनुसार ११ वटा सडकको हाल निर्माण कार्य जारी रहेको छ । “यो आर्थिक बर्षमा कालोपत्रे, पीसीसी तथा आरसीसी नाला सहितको ११ वटा सडक निर्माण भइ रहेको छ ,” वडा अध्यक्ष वर्माले भन्नुभयो,– “केही दिन पछि थप १४ वटा सडकको निर्माण शुरु हुने तयारी छ । ”

वडा अध्यक्ष वर्माले २०७९ सालको निर्वाचन जिते पछि छोटो समयमै धेरै सडकको निर्माण अघि बढेको छ । छ कुने चौक देखि दक्षिण गौरी शंकरटोल,लगदहवा हुँदै बाईपास सडकको करिब २ किलोमीटर अस्फाल्ट शिलान्यास गरिएको छ । यस भित्र लगदहवा गाउँ भित्र पक्की नाला समेत निर्माण भइ रहेको वडा अध्यक्ष वर्माले जानकारी दिनु भयो । वडा अध्यक्ष बर्माले चालू आर्थिक बर्षमा सडक पुर्वाधार कार्यलाई तीव्रता दिएको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य र मानवीय विकासलाई पनि संगसँगै अघि बढाइएको भन्दै वर्माले स्थानीय माग र आवश्यकता अनुसार सडक निर्माण कार्य अघि बढाइएको बताउनुभयो ।