नेपालगञ्ज, पुस २८ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले बिहिवार पद तथा गोपनियताको शपथ लिनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाउनुभएको हो । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्रीसँगै शुक्रबार अन्य २ मन्त्रीहरुले समेत शपथ लिनुभएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट बाँके १(१)की प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र एमालेको तर्फबा अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले शपथ लिएका छन् । प्रदेश सांसद केसी प्रत्यक्षतर्फ दोश्रो पटक निर्वाचित हुनुभएको हो । २०७४ मा नै प्रतिनिधीसभाका लागि दाबेदार केसीलाई पार्टीले दुबैपटक प्रदेशसभामा टिकट दिएको थियो । दुबैजनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिनुभएको छ ।
यसैबीच लुम्बिनी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद वैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रालयको संख्या बढाएर १३ पु¥याएका थिए । मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले एउटा मन्त्रालय घटाउने निर्णय गरेको हो । बैठकले सरकारको प्रवक्तामा मन्त्री चेतनारायण आचार्यलाई तोक्ने निर्णय गरेको छ । वैठकले लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ । लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय,भौतिक पूर्वाधार विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, ग्रामीण, शहरी विकास तथा खानेपानी मन्त्रालय रहनेछन् । त्यस्तै स्वास्थ्य तथा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा संस्कृती मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र श्रम, यातायात तथा भूमि व्यवस्था मन्त्रालय पनि रहनेछन् ।
लोकप्रिय न्यूज । २८ पुष २०७९, बिहीबार १८:४७