सुशील कोइराला महिला यु–१९ क्रिकेट- कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी भएका छन्। कोहलपुरले लुम्बिनी प्रदेशलाई तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्यो । आजको पहिलो खेलमा कोहलपुर मेयर–११ ले लुम्बिनी प्रदेशलाई ४७ रनले पराजित गर्यो।

कोहलपुर मेयर–११ ले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १४.५ ओभरमा ५३ रनमा सबै विकेट गुमायो। लुम्बिनीको ब्याटिंगमा सुष्मिता भुसालले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन्। कोहलपुरको बलिंगमा रिया शर्माले सर्वाधिक ३ विकेट लिईन् जुन क्रममा ४ ओभरमा मात्र ७ रन खर्चिन्। भवानी कमाती र तृष्णा विश्वकर्माले २÷२ विकेट तथा हैमवती रोय, आरति महतो र प्रतिमा शाहले १÷१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०० रन बनायो।  कोहलपुरको लागि ओपनर साना प्रभिनले सर्वाधिक ४० रन योगदान दिईन्। अविजित रहेकी उनले ५७ बलमा ३ चौका प्रहार गरिन्। प्रतिमा शाहले १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाईन्। लुम्बिनीको बलिंगमा सरु तिवारी र एन्जिला पाठकले १÷१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच साना प्रविन घोषित भईन्।

आजको दोश्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३० रनले पराजित गर्यो। गण्डकीले दिएको १४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा ११४ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक २४ रन, गङ्गा खड्काले १८ तथा जानकी थापाले अविजित १५ रन बनाईन्। गण्डकी प्रदेशको बलिंगमा रचना चौधरीले सर्वाधिक ३ विकेट लिईन् जुन क्रममा ४ ओभरमा २५ रन खर्चीन्। आकृति तिवारी र सिमाना केसीले २÷२ विकेट तथा कुसुम गोदार र निरुता जीटिले १÷१ विकेट लिए। टस जितेर ब्याटिंग गरेको गण्डकीले २० ओभरमा ३ विकेट गुमाएर १४४ रन बनायो। गण्डकीको लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक ७१ रनको योगदान दिईन्। चौंथो नम्बरमा ब्याटिंग गरेकी उनले अविजित रहँदै ५८ बलमा ६ चौका र २ छक्का प्रहार गरिन्। सिमाना केसीले २१ तथा रचना चौधरीले १६ रन बनाईन्।सुदूरपश्चिमको बलिंगमा स्नेहा महराले १ विकेट लिनु बाहेक अन्य बलर विकेटविहिन रहे। गण्डकीले २ विकेट रन आउट मार्फत गुमायो। खेलको प्लेयर अफ द म्याच अर्धशतकीय योगदान दिन सफल ज्योत्सनिका मरासिनी घोषित भईन्।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ः३० बजे बागमती र लुम्बिनी तथा दोश्रो खेलमा दिउँसो १ः३० बजे गण्डकी र कोहलपुर मेयर–११ प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कोहलपुर मेयर–११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन्। सबै टिमले एक–अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।